कहाँ छ यो देश?
यो देशमा—
कहाँ छ विश्वास?
कहाँ छ भरोसा?
व्यापार व्यवसाय गर
तिमी दलाल पुँजीपति।
सरकारी कार्यालयमा जागिर खाउ
तिमी भ्रष्ट कर्मचारी।
राजनीतिमा लाग
तिमी नेता र झोले।
सामाजिक रुपान्तरणमा लाग,
तिमी डलरे विदेशी एजेन्ट।
जागिर मात्रै खाउ
जोखिम तिमीले मोलेनौ।
कहाँ छ यो देश?
गर्ने के यहाँ?
गुमेको त्यो विश्वास,
त्यो भरोसा—
फर्किन्छ कसरी?
रगतले लिप्त,
विद्वंश पश्चात
उदाएका
ती आशाका
झिना किरणहरू
बलिदान,
पीडा र
वेदनाले
जुर्मुराएका
ती आशाका
झिना किरणहरू
कालो,
अनाकान्टार
अन्ध्येरो
रात्री पश्चात
उदाएका
ती झिना
आशाका
किरणहरू
आगो र ज्वालाको
आँधीबेरीलाई चिरेर
उदाएका
ती झिना
आशाका
किरणहरू।
रगतले सिँचित
ती आशाका किरणहरूमाथि,
धावा नबोल!
विश्वासको बिउसित
खेल नखेल्!
Comments